रामेछाप। सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले डाँसे सडकखण्ड पिच गर्ने काम बहुवर्षीय ठेक्कामार्फत अघि बढाइने बताएका छन्। हाल सडकको बीच भाग अधुरो रहेको भन्दै उठेका गुनासोको जवाफ दिँदै उनले प्रदेश र संघीय पूर्वाधार विकास निकायसँग समन्वय गरेर निर्माण प्रक्रिया अघि बढाइँदै रहेको जानकारी दिएका हुन्।
बिहीबार सुनापति गाउँपालिका–५ मा आयोजित गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ तथा एकीकृत घुम्ती शिविर कार्यक्रममा अध्यक्ष तामाङले सडकलाई व्यवस्थित र दीगो बनाउने गरी योजना तयार गरिएको बताए। सडक सरसफाइ, बाढी–पहिरो जोखिम न्यूनीकरण तथा आपतकालीन सवारी साधन सञ्चालनमा अवरोध नआउने गरी प्राथमिकताका आधारमा काम भइरहेको उनको भनाइ छ।
उनले गाउँपालिकाले जनताको गुनासो नआउने गरी सेवा प्रवाह, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे। नियमित सार्वजनिक सुनुवाइ, वडा–वडामा प्रत्यक्ष पहुँच र जनताको घरटोलमै पुगेर समस्या समाधान गर्ने अभ्यासका कारण नागरिक सन्तुष्टि बढेको बताए।
स्वास्थ्य सेवातर्फ सुनापति आधारभूत अस्पताल उद्घाटन भइसकेको र एक्स–रे मेसिन जडान स्वास्थ्य मन्त्रालयको निर्णय पर्खाइमा रहेको अध्यक्ष तामाङले जानकारी दिए। एक्स–रे बाहेकका आवश्यक उपकरण, चिकित्सक र जनशक्ति व्यवस्थापन गरी स्थानीय तहमै सेवा उपलब्ध गराइँदै आएको जनाइएको छ।
शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, पर्यटन र पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै उनले बाँकी कार्यकालमा चुनावी घोषणापत्रभन्दा बढी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा भएका वडागत तथा शाखागत कार्यहरूको प्रगति विवरण सार्वजनिक गरे। उनका अनुसार चालु आर्थिक वर्षका लागि गाउँपालिकाको कुल अनुमानित आय–व्यय बजेट ६१ करोड ४९ लाख ९२ हजार ३९२ रुपैयाँ रहेको छ। प्रथम चौमासिकसम्म कुल अनुमानित आयको ४०.३३ प्रतिशत आम्दानी भएको र खर्चतर्फ चालु तथा पुँजीगत गरी १५.२९ प्रतिशत खर्च भएको जानकारी दिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका पूर्वअध्यक्ष हिमाल ढुङ्गेलले सार्वजनिक सुनुवाइमार्फत नागरिक र स्थानीय सरकारबीच प्रत्यक्ष संवाद हुनु सकारात्मक भएको बताए। धेरै प्रश्न नआउनु नागरिक सन्तुष्टिको संकेत भएको उल्लेख गर्दै उनले गाउँपालिकाको कामको प्रशंसा गरे।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुख, शिक्षक, पत्रकार तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।









