रामेछाप । खाँडादेवी गाउँपालिकामा व्यापक अनियमितता भएको अर्को खुलासा भएको छ । गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले खाना र खाजामा मात्र नभई पाइपमा समेट घोटाला गरेको खुलेको छ ।
गाउँपालिका अध्यक्ष श्रेष्ठको तोक आदेशको आधारमा HDPE पाइप २२ हजार ९७५ मिटर रु ३६ रुपैंया ४० पैसाका दरले प्रतिमिटर खरिद गरेको बिल पेस भई सो अनुसार रकम निकासा भएको खुलेको छ । तर उक्त खरिद भएको पाइप स्टोरमा दाखिला गरिएको छैन । स्टोरमा दाखिला नगर्ने मात्र हैन उक्त पाइप कुन प्रयोजनका लागी कुन स्थानमा प्रयोग भएको समेत उल्लेख गरिएको छैन । गाउँपालिकाको भौचर न. २४३ मा अध्यक्षको तोक आदेशमा सिधै सिन्धुली जिल्लाको बोहोरेटारमा रहेको सूर्यवंशी हार्डवेयर बाट खरिद भएको बिल बिजक पेस भएको देखिन्छ । तर पाइप कहाँ र के प्रयोजनको लागी खरिद भयो र प्रयोग भएको हो उल्लेख छैन ।
यदि खरिद गरिएको पाइप प्रयोग नभएको भए स्टोरमा हुन पर्ने भए पनि स्टोरमा दाखिला समेत गरिएको छैन । स्टोरमा दाखिला नगरी नागरिकलाई वितरण समेत गर्न मिल्दैन । नागरिकलाई वितरण गरेको भए पनि उल्लेख हुन पर्ने हो तर उक्त कुराको उल्लेख भएको कहीँ कतै नखुलेको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा भनेको छ । त्यस्तै प्रतिवेदनमा भनेको छ । उक्त खरिद कार्य गर्दा मौजुदा सूचिमा रहेको कम्तीमा तिन फर्म सँग दर मागी न्यूनतम दरमा खरिद गर्नु पर्नेमा बिना प्रतिस्पर्धा खरिद गरिएको देखिएको छ । यस विषयमा महालेखापरीक्षकको कार्यालयका उप(महालेखापरीक्षक वैकुण्ठ बहादुर अधिकारी सँग कुरा गर्दा बिना प्रतिस्पर्धा त्यति ठुलो परिणाममा समान खरिद गर्नु नै अनियमितता हो । सिधै अध्यक्षको तोक आदेशमा बिना कारण समान खरिद गर्नु ठुलो अनियमितता हो । समान देखा नपर्नु झन् ठुलो अनियमितता हो । यस्तो कार्यले गाउँपालिका समृद्ध बन्न नसक्ने भन्दै । त्यस्तो कार्य नगर्न जनप्रतिनिधिहरूलाई आग्रह समेत गर्नु भएको छ ।