काठमाडौं । युवा संघले मंसिर ७ गते काठमाडौंमा गर्ने प्रदर्शनको विषयमा छलफल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । बैठकमा विशेष गरी मंसिर ७ गते र युवा संघले काठमाडौंमा गर्ने प्रदर्शन र मंसिर दोस्रो सातादेखि सुरु हुन लागेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
एमालेको भातृ संगठन युवा संघले महँगी, भ्रष्टाचार र सबै किसिमका अराजकता विरुद्ध भन्दै काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दै छ । यसैगरी मंसिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर अभियान सुरु गर्दैछ । यिनै कार्यक्रमको पूर्व तयारीका लागि केन्द्रीय समिति बैठक बस्न लागेको एमालेले जनाएको छ । साथै बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने बताइएको छ ।