रामेछाप । नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपाल रामेछापले नयाँ नेतृत्व चयन गरेको छ । सदरमुकाम मन्थलीमा मंगलबार सम्पन्न अधिवेशनबाट सुरेन्द्र कार्कीको नेतृत्वमा ५० सदस्सीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो ।
उपाध्यक्षमा मनिता सुनुवार, सचिवमा शिव सागर मगरलाई चयन गरेको छ । त्यसै गरी सहसचिवमा रामहरि कार्की र बलराम थापा मगर चयन हुँदा कोषाध्यक्षमा दीपक भण्डारी चयन भएका छन् । नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यलाई संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीले मंगलबार न पद तथा गोपनीयताको शपथ गराएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले रामेछापमा अध्यक्ष आनन्द श्रेष्ठले नवनिर्वाचित कमिटीको काँधमा ठुलो जिम्मेवारी आएको बताए । अध्यक्ष श्रेष्ठले निर्वाचित पदाधिकारी र सदस्यलाई काठमाडौँ फर्कने होइन गाउँमा खटिन निर्देशन दिए । काम नगर्नेलाई पार्टीले हस्तक्षेप गरेर जिल्ला कमिटीबाट बिदा गर्ने समेत श्रेष्ठले चेतावनी दिएका छन् ।
नवनिर्वाचित अध्यक्ष सुरेन्द्र कार्कीले संगठनले दिएको जिम्मेवारी इमानदारीताका साथ पूरा गर्ने बताएका छन् । अध्यक्ष कार्कीले आफूले सबैलाई साथ लिएर अघि बढ्ने बताए । नवनिर्वाचित जिल्ला कमिटीलाई पार्टी जिल्ला कमिटी उपसचिव प्रकाशकुमार कार्की, निर्वाचन कमिटीका संयोजक उज्वल सुवेदी लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । नवनिर्वाचित जिल्ला कमिटीको पहिलो बैठक मंगलबार नै बसेको छ । बैठकले संगठनका आगामी योजना निर्माण गरेको छ ।