कन्टेन्ट क्रियटर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालका अनुसार मौन अवधिमा उम्मेदवारहरूको प्रचार हुने गरी भिडियो सामग्री पोस्ट गरेको आरोपमा उनलाई सोधपुछका लागि कार्यालयमा बोलाइएको हो।
प्रहरीका अनुसार मौन अवधिमा कुनै पनि प्रकारको चुनावी प्रचार–प्रसार गर्न नपाइने कानुनी व्यवस्था छ। तर कार्कीले विभिन्न राजनीतिक दलका उम्मेदवारसँग सम्बन्धित भिडियो सामग्री टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमा अपलोड गरेको सूचना प्राप्त भएपछि प्रहरी सक्रिय भएको हो। त्यसपछि उनलाई सम्पर्क गरी उपस्थित हुन भनिएको र आवश्यक सोधपुछ अघि बढाइएको डीएसपी खनालले बताएका छन्।
कार्की यसअघि जापानमा बस्दै आएका थिए। केही दिनअघि मात्र नेपाल फर्किएका उनले चुनावी माहोल झल्किने भिडियोहरू निर्माण गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएका थिए। प्रहरीका अनुसार अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ र आवश्यक प्रक्रिया कानुनअनुसार अघि बढाइनेछ।









