२७ जेठ, काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजे डुन्डीमा सुरु हुनेछ।
नेपालले यस शृंखलामा हालसम्म तीन खेल खेलिसकेको छ। स्कटल्याण्डविरुद्धको पहिलो खेलमा जित हात पारेको नेपाल आइतबार भने कीर्तिमानी जितबाट चुकेको थियो। नेदरल्याण्ड्सविरुद्धको पहिलो खेलमा नेपाल विजयी बनेको थियो।
शृंखलामा नेदरल्याण्ड्सले भने अहिलेसम्म जित निकाल्न सकेको छैन। उसले नेपाल र स्कटल्याण्डविरुद्ध एक–एक खेल खेलेकोमा दुवैमा पराजित भएको छ।
ओडीआई क्रिकेटमा नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म ६ पटक भेट हुँदा दुवैले समान ३–३ खेल जितेका छन्। गत वर्ष फेब्रुअरीमा कीर्तिपुरमा भएको शृंखलामा पनि दुवैले १–१ खेल जितेका थिए।
लिग २ को अंकतालिकामा नेदरल्याण्ड्स २२ खेलबाट २६ अंकसहित दोस्रो स्थानमा छ। नेपालले १५ खेलमा १० अंक जोडेर सातौं स्थानमा रहेको छ।