काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको असहयोगको बाबजुद पार्टीभित्र सक्रिय राजनीतिक गतिविधि सञ्चालन गर्दै गर्दा तीन जना वरिष्ठ पदाधिकारीले खुलेर साथ दिएका छन्। एमाले अध्यक्ष केपी ओलीको मातहतको केन्द्रीय कमिटीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले बिहीबार थापागाउँमा पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गरेको सम्पर्क कार्यालय कार्यक्रममा सहभागी भएर उनको साथ व्यक्त गरेका छन्।
ज्ञवाली र पाण्डेले एमाले केन्द्रीय कमिटी बैठकमा भण्डारीलाई सक्रिय राजनीति गर्न रोक लगाउनु उचित नहुने धारणा राखेका थिए। तर साउन ६ गतेको बैठकले भण्डारीलाई देशको संवैधानिक अभिभावकको भूमिका निभाउने भएकाले सक्रिय राजनीतिमा फर्कन नहुने निर्णय गरेको थियो।
निर्णय जारी हुने क्रममा आफूहरूको फरक मत समावेश नभएको भन्दै उपाध्यक्ष ज्ञवाली र पाण्डेले आपत्ति जनाएका थिए। उनीहरूले अन्तरपार्टी निर्देशनमा आफ्नो मत समावेश नगरेको विषय आगामी बैठकमा छलफल गर्न माग गरेका छन्। पूर्वराष्ट्रपति भण्डारीले ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को नाममा कार्यालय सञ्चालन गर्दै आफ्नो राजनीतिक गतिविधिलाई तीव्र बनाएकी छन्।









