रामेछाप । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन कार्यालय रामेछापले कर्मचारी खटाउँदा गम्भिर गल्ती गरेको भेटिएको छ ।
मुख्य निर्वाचन कार्यालयले बुधवार हचुवाको भरमा कर्मचारी खटाउँदा स्थानिय तहमा वडा अध्यक्ष उम्मेदवार वनेका दुई वडा अध्यक्षलाई मुख्य निर्वाचन कार्यालय रामेछापले मतदान अधिकृत र सहायक मतदान अधिकृतको रुपमा काम गर्ने गरी तोकेको हो । यसरी मतदान केन्द्रमा खटिनेमा लिखु तामाकोशी गाउँपालिका–२ का सैपुका सन्तोष पौडेल र मन्थली नगरपालिका–७ भटौलीका देवेन्द्र श्रेष्ठ रहेका छन् । उनीहरु दुवै जना हाल नेकपा एमालेको तर्फवाट वडा अध्यक्षको उम्मेदवार हुन् ।
यसअघि पौडेल लिखु तामाकोशी गाउँपालिका–२ सैपुमा रहेको अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए । उनले वैशाख ३० गते हुने स्थानिय तहमा लिखु तामाकोशी गाउँपालिका–२ सैपुको वडा अध्यक्षको रुपमा नेकपा एमालेबाट टिकट पाएपछि प्रधानाध्यापकवाट राजिनामा दिएर चुनावी मैदानमा होमिएका हुन् । उनलाई अहिले मुख्य निर्वाचन कार्यालय रामेछापले लिखु तामाकोशी गाउँपालिका–६ तिल्पुङ्गमा रहेको नवदर्शन माध्यमिक विद्यालय कटहरे (ग) मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटाएको छ ।
त्यसैगरी मन्थली नगरपालिका–७ भटौलीका देवेन्द्र श्रेष्ठ मन्थली नगरपालिकामा कार्यरत कर्मचारी हुन् । उनले नेकपा एमालेवाट मन्थली नगरपालिका–७ भटौलीको वडा अध्यक्ष पदमा टिकट पाएपछि मन्थली नगरपालिकामा राजिनामा दिएर चुनावमा उत्रिएका हुन् । उनलाई पनि मुख्य निर्वाचन कार्यालयले मन्थली नगरपालिका– ६ भलुवाजोरमा रहेको आधारभूत विद्यालय बेतीनी (क) मतदान केन्द्रको सहायक मतदान अधिकृतको रुपमा खटाएको छ ।
मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयको कमजोरीको कारण निर्वाचनमा होमिएका उम्मेदवार नै कर्मचारीको रुपमा खटाएपछि कर्मचारी बृत्तमा चर्चा चुलिएको छ । यस बिषयमा जानकारी लिन खोज्दा मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टको मोवाइल नं.९८४९२४८३६८ मा पटक–पटक फोन गर्दा समेत उनको फोन उठेन ।