रामेछाप । पछिल्लो समय व्यवसायी समेत कोरोना संक्रमण हुने दर बढेसँगै रामेछाप उद्योग बाणिज्य संघले आफ्ना व्यवसायीहरुको हितको लागि छुट्टै कोभिड–१९ बिपत व्यवस्थापन राहात कोष स्थापना गरेको छ ।
रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेको अध्यक्षतामा जेठ २६ गते बसेको आकस्मीक बैठकले कोष स्थापना गर्ने निर्णय गरेको हो । गएको वर्ष पहिलोपटकको कोरोनाको लहर सँगै रामेछापका केही व्यवसायीहरु कोरोना संक्रमित भएका थिए । पछिल्लो दोश्रो पटक पुनः कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै जिल्लाका आम व्यवसायीहरुको स्वास्थ्य सुरक्षाको लागि रामेछाप उद्योग वाणिज्य संघले छुट्टै कोभिड–१९ विपद् व्यवस्थापन राहात कोषको स्थापना गरिएको रामेछाप उद्योग वाणिज्य संघका महासचिव नबराज ढुंगेलले जानकारी दिए ।
उनले भने– उद्योग बाणिज्य संघमा आवद्धता भएका सदस्यहरुलाई यदी कोरोना संक्रमण भइहालेको खण्डमा कोषमा जम्मा भएको रकमले उनीहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने भन्ने उद्धेश्यले राहात कोषको स्थापना गरिएको हो । कोषमा जम्मा भएको रकमले कोरोना संक्रमित व्यवसायीहरुको हितमा खर्च गरिने महासचिव ढुंगेलले बताए ।
बैठकले संस्थामा आवद्ध व्यवसायीहरुलाई कोरोना संक्रमण भइहालेको खण्डमा ती विरामीलाई आर्थिक सहयोग गर्ने, आइसोलेसन वेड सञ्चालन तथा सहयोगार्थ कार्यविधि समेत तयार गरिएको रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदासले जानकारी दिए । उनका अनुसार– विरामीहरुको आइसोलेसन वेड तयार गर्न, आर्थिक श्रोत जुटाई व्यवस्थापनको लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ ।
उद्योग वाणिज्य संघले गठन गरेको कोभिड तथा विपत व्यवस्थापन राहात कोषको संयोजकमा रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नविनकुमार थापामगरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । गठित समितिका सदस्यहरुमा दामोदर थापा, सुरेश उदास, सुमिका श्रेष्ठ र यज्ञप्रसाद सुवेदी रहेको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिृकत नविनकुमार केसीले जानकारी दिए ।
त्यसैगरी पछिल्लो सयम जिल्लामा व्यवसाय संञ्चालन गर्दै आएका व्यवसायीहरु कोरोना संक्रमित हुनेको संख्यामा बृद्धि भएको छ । व्यवसायीहरुले अहिलेसम्म कोरोना भ्याक्सिन लगाउन नपाएको भन्दै तत्काल रामेछापका २ हजार व्यवसायीहरुलाई कोरोना भ्याक्सिनको व्यवस्थापन गरिदिन नेपाल उद्योग वाणिज्य महासंघ टेकु र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशलाई पत्राचार गरिएको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरले जानकारी दिए ।
रामेछाप उद्योग वणिज्य संघले गएको वर्ष कोरोना महामारीमा खाद्यान्न अभाव भएका नागरिकहरुलाई खाद्यान्न सहयोग गर्नुको साथै पैदल हिडन्े पैदल यात्रीलाई खाना र वस्नको समेत व्यवस्थापन गरेको थियो । त्यसैगरी विभिन्न समयमा जिल्लामा हुने वाढी पैरो, भुकम्प, आगलागी लगाएत विभिन्न दैविप्रकोपका घटनाका पिडीत नागरिकहरुलाई खाद्यान्न तथा आर्थिक सहयोग समेत गर्दै आएको छ ।