रामेछाप । रामेछापको उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाको इन्चार्जमा नेकपा ओली समुहमा खडेरी परेको देखिएको छ । नेकपा ओली समुहले जिल्लाका ८ वटै स्थानिय तहहरुमा आफ्नो जिल्ला इन्चार्जको नामावली सार्वजनिक गरेको छ । ओली समुहले सार्वजनिक गरेको नामावलीमा उमाकुण्ड गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकामा इन्चार्ज बस्ने नेता नभेटाएपछि खाँडादेवी गाउँपालिकाका नेतालाई ती दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिएर पठाएको हो ।
ओली समुहले हाल उमाकुण्ड गाउँपालिकाको गाउँ कमिटी इन्चार्जमा केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुगेल र लिखु तामाकोशी गाउँपालिकाको गाउँ कमिटि इन्चार्जमा केन्द्रीय सदस्य माधब ढुगेललाई इन्चार्ज तोकेर ती गाउँकमिटीको जिम्मेवारी दिएर पठाएको सो पार्टीले जनाएको छ ।
नेकपाको ओली समुह र प्रचण्ड–माधव समुहको छुट्टा–छुट्टै भएका भेलामा उमाकुण्ड गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैले दुवैको भेलामा सहभागीता नजनाई पर्ख र हेरको अवस्थामा बसेपछि ओली समुहले ती दुई गाउँपालिकाको गाउँ कमिटीमा बाह्य गाउँपालिकाका नेतालाई इन्चार्जको जिम्मेवारी दिएर पठाएको हो ।
ओली समुहले जिल्लाका अन्य छ वटा गाउँपालिकाको इन्चार्जमा गोकुलगंगा गाउँपालिकाको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य गीता कार्कीलाई जिम्मेवारी दिएको छ । त्यस्तै रामेछाप नगरपालिकाको इन्चार्जमा राजकुमार श्रेष्ठ, मन्थली नगरपालिकाको नगर कमिटीको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य माया कार्कीलाई तोकिएको छ ।
त्यसैगरी खाँडादेवी गाउँपालिकाको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य प्रेमबहादुर तामाङ्ग, सुनापति गाउँपालिकाको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य भुबन घिमिरे र दोरम्बा गाउँपालिकाको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य तुलाप्रसाद कँडेललाई तोकिएको नेकपा ओली समुहका केन्द्रिय सदस्य कमल चौलागाईले जानकारी दिए ।