रामेछाप । नेपाल तरुण दल रामेछापले रामेछाप नगरपालिका ९ टार गाउँका आगोलागि पीडितलाई पानी ट्याङ्की सहयोग गरेको छ । चैत १ गते भएको आगलागीबाट उक्त स्थानमा १३ घर जलेर नष्ट भएको थियो । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल रामेछापले बिहीबार पीडितहरूको घरमा पुगेर खानेपानी ट्याङ्की हस्तान्तरण गरेको हो ।
नगरपालिका प्रमुख लवश्री न्यौपाने, नगरका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष समीर कार्कीसहितको उपस्थितिमा गोकुलगंगा गाउँपालिकाका अध्यक्ष समेत रहेका नेपाल तरुण दल रामेछापका जिल्ला अध्यक्ष काजीबहादुर खड्का (दिनेश), उपाध्यक्ष वासु फुयाँल लगायतका तरुण दलका नेताहरूले पीडित १३ घरलाई १–१ वटा पानी सञ्चितका लागि सहयोग पुगोस् भनेर ट्याङ्की हस्तान्तरण गरेको उपाध्यक्ष फुयाँलले जानकारी दिए ।
उपाध्यक्ष फुयाँलले भने ‘तरुण दलका साथिहरुसंगको सहयोगमा १–१ वटा ५ सय लिटरका पानीको ट्याङ्की प्रदान गरेका हौँ’, उक्त स्थानमा पानीको निकै समस्या रहेको रहेछ । फुयाँलले भने’
सोही अवसरमा बोल्दै नेपाली काँग्रेस रामेछापका निवर्तमान पार्टी सभापति एवं नगरपालिका प्रमुख न्यौपानेले अग्नि पीडितका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूबाट प्राप्त सहयोगलाई सिधै पीडितहरूको आवश्यकताको आधारमा वितरण गर्दै आएको जानकारी गराए ।