धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी लापरबाहीपूर्ण तरिकाले सवारी साधन चलाउँदा उनी गुडिरहेकै अवस्थामा दुर्घटनामा समेत परेका थिए।
भिडिओ बाहिरिएसँगै चौतर्फी विरोध भएपछि नेपाल प्रहरीले सक्रियता देखाउँदै उनलाई कानुनी दायरामा ल्याएको हो। प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत प्राप्त जनगुनासो र प्रमाणका आधारमा उनलाई लापरबाही साथ सवारी चलाएको कसुरमा जरिवानासहित आवश्यक कानुनी कारबाही गरिसकिएको छ।









