काठमाण्डौं । डोल्पाको ठूलिभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चार सैनिक मध्ये तीनको मृत्यु भएको छ । आगो निभाउने क्रममा घाइते भएका जुम्लाको तातोपानी गाउँपालिका–४ घर भई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढाको सोमबार साँझ मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिएका छन् ।
रावलको उपचारको क्रममा सोमबार साँझ जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने जमदार मगर र बुढाको उपचारको क्रममा काठमाडौँ कीर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको प्रजिअ दाहालले बताए । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको काठमाडौँमै उपचार भइरहेको छ ।
मृतक रावलको शव नेपाली सेनाको हेलिकप्टरमा हिजो जुम्ला पु¥याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । उनीहरू सोमबार आगो निभाउन गएका थिए । आगो निभाउने क्रममा वरिपरिबाट हावाको वेगसँगै आगो आएपछि खोल्सामा रहेका उनीहरू जलेर घाइते भएका थिए ।