रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति सुशील थापाको राजीनामा माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले स्ववियु कार्यालयमा तालाबन्दी गरेको छ।
उपसभापति उत्सव केसीको निलम्बनसम्बन्धी समाचार सार्वजनिक भएपछि उत्पन्न आन्तरिक विवाद र सभापतिको भूमिकाप्रति असन्तुष्टि जनाउँदै क्रान्तिकारीले आइतबार तालाबन्दी गर्दै थापाको राजीनामा माग गरेका हुन्।
क्रान्तिकारीले थापामाथि पदीय दुरुपयोग, गैरजिम्मेवार र स्वेच्छाचारी व्यवहार गरेको आरोप लगाएको छ। साथै, आर्थिक पारदर्शिताको अभाव, कार्यक्रमहरूको अस्पष्ट आय–व्यय विवरण र नेतृत्वको अनुशासनहीन चरित्रप्रति आपत्ति जनाइएको छ।
सभापतिले स्वयं संलग्न क्रियाकलापलाई ‘किर्ते’ भनी पन्छिन खोज्नु निन्दनीय भएको भन्दै संगठनले तुरुन्त सुधारको चेतावनी दिएको छ। क्याम्पस प्रमुख डा. भरत श्रेष्ठलाई बुझाइएको पत्रमा नेतृत्वको द्वयद् चरित्रले विद्यार्थी आन्दोलन बदनाम भएको उल्लेख गरिएको छ।