रामेछाप । सवारी चालकको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले शनिमार मन्थलीमा स्वास्थ्य परीक्षण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आफ्ना नियमित कार्यक्रम सहित सवारी चालकको सामान्य स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले केहि समय देखी सञ्चालन गर्दै आएको छ ।
शनिवार रामेछाप सामुदायिक अस्पतालको सहयोगमा बागमती प्रदेश सभाका सदस्य आनन्द कुमार श्रेष्ठको प्रमुख आतिथ्यता र मन्थली नगरपालिका–२ का वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्कीको उपस्थितिमा खिम्ती–मन्थली–सेलेघाट भएर चल्ने साना तथा ठुला सवारी साधनका चालकहरूको सामान्य स्वास्थ्य परीक्षण गरेको जनाएको छ ।
मन्थली नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी शनिवार बिहान ८ बजे देखी १० बजेसम्म सवारी चालकहरूको सामान्य स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईले बताउनु भयो । खिम्ती–मन्थली–सेलेघाट भएर चल्ने साना तथा ठुला सवारी साधनका ५० जना चालकहरूको सामान्य स्वास्थ्य परीक्षण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य परीक्षणका क्रममा १० जना चालकहरूको प्रेसर अधिकतम भएको र एक जना चालकको प्रेसर कम देखिएकोले समस्या देखिएका चालकहरूलाई स्वास्थ्यकर्मी मार्फत सुधार गर्न आवश्यक सुझाव सल्लाह प्रदान गरिएको छ ।
सवारी चालकहरूको स्वास्थ्य अवस्था बारे सामान्य स्वास्थ्य परीक्षण सहित उनीहरूलाई थप सचेतनाका लागि जिल्ला ट्राफिक प्रहरीले आफ्ना नियमित कार्यक्रम सहित सवारी चालकको सामान्य स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । जसका कारण दुर्घट्ना न्युनिकरणमा सहयोग पुग्ने ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ ।