रामेछाप । कोरोना महामारीका कारण रामेछापका सुत्केरी, गर्भवती महिलाहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गरेका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण जिल्लाका सरकारी र निजी अस्पतालमा उपचार लिन आउने सेवाग्राही बढी मात्रामा कोरोना संक्रमितहरु आउने भएपछि गर्भवती र सुत्केरी महिलाहरुले सहज रुपमा सेवा पाउन सकेका छैनन् । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछि अस्पतालहरुमा कोरोना संक्रमितहरुले भरिभराउँ भएका छन् । जसकाकारण सुत्केरी र गर्भवती महिलाहरुले अस्पतालमा गएर सहज तरिकाले सेवा पाउँन नसकेका हुन् ।
दैनिक रुपमा कोरोना संक्रमितको दर बृद्धि भएकाले जिल्ला अस्पताल रामेछापले जिल्लाका अधिकासं स्वास्थ्य संस्थाहरुमा उपचार लिन आउने गर्भवती र सुत्केरी महिलाहरुलाई भरसक अस्पतालमा नआउन आग्रह गरेको छ । सुत्केरी र गर्भवती महिलाहरुको स्वास्थ्यमा जटिल समस्या आएको खण्डमा मात्रै अस्पताल आउन सवै गर्भवती र सुत्केरी महिलाहरुलाई जानकारी गराएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.जितेन्द्रकुमार कर्णले जानकारी दिए ।
उनले भने– यसअघि जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका गरि ८ वटै स्थानिय तहहरुमा रहेका वर्थिङ्ग सेन्टरवाट गर्भवति महिला र सुत्केरी महिलाहरुलाई सेवा प्रदान गर्दै आएकोमा कोरोनाले गर्दा केही उनीहरुलाई उपचार लिन समस्या भएको हुनसक्ने डा.कर्णले बताए ।