रामेछाप । दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर २ दोरम्बाकी ४१ वर्षीय सपना तामाङलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी हुन नसकेर छटपटाइरहेकी तामाङलाई शुक्रवार हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँ लगिएको हो ।
समयमै सुत्केरी हुन नसकेर मरणासन्न अवस्थामा पुगेकी तामाङलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौँको प्रसूति गृह पठाइएको बागमती प्रदेश सांसद युवराज चौलागाईले बताएका छन् । प्रसव पीडाले छटपटाइरहेकी तामाङको उद्धारका लागि आफूले बागमती प्रदेश सरकारको तर्फबाट निःशुल्क हेलिकप्टरको व्यवस्था गरिदिन बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेललाई आग्रह गरेपछि महिलाको उद्धार भएको उनले बताए । प्रदेश सांसद चौलागाईले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो आग्रहलाई स्वीकार गरी निःशुल्क हेलिकप्टरको व्यवस्था गरेकोमा वाग्मती प्रदेशका मुख्यमन्त्री जमरकट्टेल र प्रदेशको स्वास्थ्य मन्त्रालयलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् ।