रामेछाप । यहीँ वैशाख ३० गते हुुने स्थानिय तहको निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन कार्यालय रामेछापले जिल्लाका १ हजार १ सय १२ जना कर्मचारीलाई खटाएको छ ।
जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटै स्थानिय तहका ९२ वटा मतदान स्थल र २ सय २३ वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी समेत गरी मतदान स्थलमा आवश्यक पर्ने कर्मचारीहरु खटाइएको मुख्य निर्वाचन कार्यालय रामेछापका मुख्य निर्वाचन अधिकृत डा.दीवाकर भट्टले जानकारी दिए ।
उनका अनुसार सदरमुकाम मन्थलीमा रहेको मन्थली नगरपालिकामा मतदाता संख्या ३७ हजार २ सय २० जना रहेकाले सोही अनुसार कर्मचारी पनि २ सय ३५ जना खटाएको छ । त्यसैगरी कम मतदाता रहेको गोकुलगंगा गाउँपालिकामा १ सय जना कर्मचारी खटाइएको छ । यसवाहेक उमाकुण्ड गाउँपालिकामा १ सय ७ जना, लिखु तामाकोशी गाउँपालिकामा १ सय ३० जना र सुनापति गाउँपालिकामा १ सय १५ जना कर्मचारी खटाइएको छ ।
यसैगरी निर्वाचन सम्पन्न गर्न खाँडादेवी गाउँपालिकामा १ सय ३५ जना, दोरम्वा शैलुङ्ग गाउँपालिकामा १ सय ३५ जना र रामेछाप नगरपालिकामा १ सय ५५ जना कर्मचारीहरु खटिएका छन् । जिल्लाको २ नगरपालिका, ६ वटा गाउँपालिका र ६४ वटा वडाहरु गरी कुल ३ सय ३६ पदमा १ हजार २ सय ५९ जना उम्मेदवारहरु चुनावमी माहोलमा होमिएका छन् ।
रामेछापका ८ वटा स्थानिय तहमा गरी कुल ९१ हजार १ सय ३१ जना पुरुष र ८७ हजार ७ सय ३६ जना महिला गरी कुल १ लाख ७८ हजार ८ सय ६७ जना मतदाता रहेका छन् ।