काठमाडौं । सरकारले ल्याएका महत्वपुर्ण अध्यादेश चाँडै पारित हुनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छ । प्रतिनिधि सभा बैठकमा शुक्रबार बोल्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले पछिल्लो पटक सरकारले ल्याएका अध्यादेश जायज भएकाले चाँडै संदनबाट पारित हुनुपर्ने बताएका छन् ।
‘सरकारले केही अध्यादेश ल्यायो, ती अध्यादेशहरु पारितहुन जरुरी छ एसिड आक्रमणसम्बन्धी अध्यादेश सम्बन्धमा हाम्रो पार्टी तपाईंको साथमा छ, कोभिड–१९ को व्यवस्थापनका लागि पनि हामीले सधैं सरकारलाई रचनात्मक सहयोग गर्दै आएका छौँ’– उहाँले भन्नुभयो ।
संविधानको विकल्प वर्तमान संविधान नै भएको बताउँदै खाँडले भने – ’संसदीय व्यवस्थालाई बलियो बनाऔं, संविधानको कार्यान्यनमा प्रतिबद्ध बनौं ।’
जायज विषयमा सरकारलाई सहयोग गर्ने बताउँदै खाँडले भने – ‘सदनलाई रचनात्मक ढंगले अगाडि बढाऔं, जनतामा नयाँ भरोसा र विश्वास पैदा गरौं, राजनितिक दलहरुमा भएका तिक्ततालाई कम गर्दै फेरी सहयात्रा र हातेमालो गरौँ भन्ने नै नेपाली कांग्रेसको चाहना हो ।’
वर्तमान सरकार गठन भएदेखि नै संविधानको मौलिक हक र लोकतन्त्रमाथि प्रहार थालेको आरोप लगाउँदै खाँडले अब सरकारसँग सत्तामा बसिरहने नैतिकता समाप्त भएको बताए ।