काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने आज (सोमबार) अन्तिम दिन रहेको छ ।
निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमअनुसार समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाउन आइतबारदेखि प्रक्रिया सुरु भएको हो । आयोगका अनुसार दलहरूले सोमबार कार्यालय समयभित्र अनिवार्य रूपमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तय गरिएको कार्यतालिकाअनुसार केही राजनीतिक दलहरूले आइतबार नै समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । निर्वाचन आयोगले तोकेको समयसीमा भित्र बन्दसूची नबुझाउने दलले समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिन नपाउने जनाएको छ ।









