काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)ले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
स्वत:स्फूर्त रुपमा माइतीघर मण्डलामा भेला भएका उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ जस्ता नारा लेखिएका प्लेकार्डसहित विरोध प्रकट गरेका थिए । कतिपय विद्यार्थीहरू स्कुल तथा कलेज पोशाकमै प्रदर्शनमा सहभागी भएका थिए ।
पहिले सामाजिक सञ्जालमा मात्र देखिने आक्रोशलाई सडकमा उतार्दै जेनजी पुस्ताले प्रत्यक्ष प्रदर्शनको शुरुवात गरेको हो । यस आन्दोलनलाई विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, कलाकार, पेशाकर्मी र स्वतन्त्र युवाहरूले समेत समर्थन जनाएका छन् ।









