काठमाडौँ – सरकारसँग ६ बुँदे सहमति भए पनि यातायात व्यवसायीले आन्दोलन नरोकेपछि यात्रुहरू आज पनि सास्ती खेप्न बाध्य भएका छ। देशभर सार्वजनिक सवारी साधन नचल्दा यात्रुहरू बिहानैदेखि गन्तव्यमा पुग्न कठिनाइ भोगिरहेका छन्। सोमबारदेखि अलपत्र परेका यात्रुहरू सवारीको प्रतीक्षामा रहेका छन् भने काठमाडौँ उपत्यकामा सीमित मात्रामा सञ्चालित साझा यातायात अत्यधिक भीडभाडसहित सञ्चालन भइरहेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले सार्वजनिक सवारी साधन प्रभावित भएका कारण प्रहरीले ७७ वटै जिल्लामा स्कटिङ गरेर गाडी चलाउने व्यवस्था मिलाइरहेको जानकारी दिनुभयो।
सार्वजनिक यातायात नचलेपछि यात्रुहरू राइड सेयरिङ सेवामा निर्भर हुनुपरेको छ। यद्यपि ती सेवाले सामान्यभन्दा दोब्बर भाडा असुलिरहेको यात्रुहरूको गुनासो छ। सामान्य अवस्थामा २५० रुपैयाँ लाग्ने दूरीमा अहिले ४०० रुपैयाँसम्म तिर्नुपरेको उनीहरूको भनाइ छ।
सरकार र व्यवसायीबीच सोमबार राति भएको ६ बुँदे सहमतिको मुख्य विषय गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली हो। सो नियमावलीले रातो नम्बर प्लेट भएका निजी सवारीसाधनलाई यात्रु बोक्न दिने प्रावधान राखेकाले त्यसविरुद्ध व्यवसायीहरू आन्दोलित छन्।
सहमतिको क्रममा सरकारले सो नियमावली पूर्ण कार्यान्वयनमा नल्याउन गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने र संघीय कानुन तर्जुमा नभएसम्म नियमावली स्थगनको सिफारिस गर्ने उल्लेख छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिलो बुँदा पूर्ण रूपमा कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो। उहाँले सो निर्णयको प्रतिक्षामा आन्दोलन जारी राखिएको र गण्डकी प्रदेश सरकारले नियमावली फिर्ता लिने निर्णय गरेपछि मात्र आन्दोलन स्थगन हुने बताउनुभयो।
सरकारले भने सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाइसकेको र समस्या समाधान हुने दाबी गरेको छ। सरकारी वार्ता टोलीका संयोजक कृष्णराज पन्थले आज अपराह्नसम्ममा निकास आउने विश्वास व्यक्त गर्नुभएको छ।