काठमाडौं । शिक्षा विधेयकमामा आफ्ना माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले नयाँ आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पहिलो चरणको आन्दोलन घोषणा गरेको हो। सो कार्यक्रमअनुसार आगामी भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री तथा विभिन्न राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइनेछ।
त्यसैगरी भदौ ११ देखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक दलका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइने र दुई घण्टासम्म प्रतिनिधिमूलक धर्ना दिइने महासंघले जनाएको छ। भदौ १३ गते देशभरका सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय इकाइमा ध्यानाकर्षण पत्र बुझाउँदै धर्ना कार्यक्रम सञ्चालन गरिनेछ।
महासंघले दोस्रो चरणको कार्यक्रम भदौ २१ गते सार्वजनिक गर्ने जनाएको छ। अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार दोस्रो चरणमा अवरोधात्मक र विरोध प्रदर्शनसहितका कडा कार्यक्रम ल्याइनेछ। उनले भने, “०८१/८२ को भन्दा कडा आन्दोलन गर्छौं।” गत चैत २० देखि २९ गतेसम्म महासंघले विद्यालय ठप्प पारेर काठमाडौं केन्द्रित आन्दोलन गरेको थियो।









