दलित समुदायबाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका आरोही विजय घिमिरेको ३६ वर्षको उमेरमा निधन भएको छ । सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका बेला अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आधार शिविरतर्फ झार्ने क्रममा आइतबार बिहान उनको बाटोमै मृत्यु भएको हो ।
सोलुदुधकुण्ड नगरपालिका–७ भित्ताखर्कका स्थायी बासिन्दा घिमिरेले ट्रेक नेपाल कम्पनीमार्फत आरोहण यात्रा सुरु गरेका थिए । आइतबार बिहान ४ बजेतिर उनमा लेक लाग्ने (अल्टिच्युड सिक्नेस), टाउको दुख्ने र श्वासप्रश्वासमा कठिनाइ हुने लक्षण देखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । तत्काल उद्धारको प्रयास गरिए पनि बिहान साढे ९ बजेतिर उनले अन्तिम सास फेरेका थिए ।
हेलिकोप्टरमार्फत लुक्ला पुर्याइएको उनको पार्थिव शरीरलाई पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याउने तयारी भइरहेको छ । इतिहास रचेका साहसी आरोहीको असामयिक निधनले पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटिएको छ ।









