रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई सेलेघाट रामेछाप साँघुटार सडक खण्डमा रहेको हटाउनु पर्ने घर टहरा र फलफूलजन्य वोट बिरुवाहरूको निर्धारित मुआब्जा बापतको रकम यथाशीघ्र व्यवस्थापन गरिदिन माग गर्दै रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले माग पत्र बुझाएका छन् ।नगर प्रमुख न्यौपानेले बुधवार सिन्धुलीको खुर्कोटमा भेटेरै माग पत्र बुझाउँदै मुआब्जा बुझाउन नसक्दा काममा ढिला भएको भन्दै छिटो उपलब्ध गरिदिन आग्रह गरेका छन् ।
साथै सुनकोसी मरिन डाइभर्सन योजना सम्पन्न भएपश्चात् सुनकोसी नदीसँग आश्रित नगरपालिकाको वडा नं ९,८,७ र ५ का समुदायको खेतीयोग्य जमिन, खानेपानी र सिचाई को दीर्घकालीन समस्या हुन सक्ने भन्दै उचित व्यवस्थापन गरिदिन समेत माग पत्र द्वारा प्रधानमन्त्रीलाई अनुरोध गरेको छ ।
साथै माग पत्रमा रामेछाप नगरपालिकाभित्रका सबै वडाहरूमा भएको भीषण आगलागीका कारण घर संरचना लगायत ठुलो धनजनको क्षति र करिब ४० हजार मिटर खानेपानी तथा सिचाइका पाइपहरू जलेर नष्ट भएकोले धनजनको क्षति बापत राहत तथा पुनर्स्थापना, खानेपानी तथा सिचाइको लागी पाइपहरू र लिफ्ट खानेपानी मेसिनको यथाशीघ्र व्यवस्थापन गरिदिन एक पत्र मार्फत माग गरिएको जनाइएको छ ।
रामेछाप नगरपालिकाका प्रवक्ता एवं समीर कार्कीले हस्ताक्षर गरेको एक विज्ञप्ति मार्फत सो कुराको जानकारी गराइएको छ । नगरपालिकाको पत्र बुझदै प्रधानमन्त्री प्रचण्डले कुनै प्रतिक्रिया भने केही नदिएको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जानकारी दिए ।









