रामेछाप । जिल्लामा रहेका ५ वटा विद्यालयहरू बन्द भएका छन् । आँखा पाक्ने रोगले सङ्क्रमणको रूप लिन थाले सँगै जिल्लामा रहेका ५ विद्यालयहरू बन्द भएका हुन् । गाउँघरका विद्यालयमा पनि आँखाका रोगीहरू अत्यधिक रूपमा बढेपछि विद्यालयले सूचना जारी गर्दै विद्यालय बन्द गरेका छन् ।
जिल्लामा सबै भन्दा धेरै विद्यार्थी सङ्ख्या समेत रहेको सदरमुकाम मन्थलीको मन्थली माविले एक साताका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । त्यसै गरी सदरमुकाम मन्थलीमा रहेका ३ वटा निजी विद्यालयले पनि आँखाको सङ्क्रमणकै कारण तीन दिन बिदा दिने निर्णय गरेका छन् । सदरमुकाम मन्थलीमा सञ्चालित डिलिट स्टार इङ्ग्लिस स्कुल, तामाकोसी इङ्ग्लिस बोर्डिङ स्कुल, कर्कलादेवी इङ्ग्लिस बोर्डिङ स्कुलले सोमबारदेखि बुधवारसम्म तीन दिन पठन पाठन बन्द गर्ने भएको हो ।
प्राप्त सूचना अनुसार २९ गते सोमबारदेखि आगामी बुधवार सम्म तीन वटै निजी विद्यालय बन्द हुने भएकोले अविभाबक हरलाई सचेत पूर्वक नानी बाबुहरूको ख्याल गर्न पनि ती विद्यालयले भनेका छन् । तामाकोसी आवासीय बोर्डिङ स्कुलमा अध्ययन गर्ने १ हजार १ सय विद्यार्थीमध्ये २ सय ५० जनाभन्दा धेरै बिरामी परेका छन् । केही दिनयता मन्थली र आसपासका क्षेत्रमा आँखा पाक्ने रोगको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र रामेछापका अनुसार आँखा पाक्ने रोग लिएर केन्द्रमा दैनिक करिब १ सय जना बिरामीहरू आउन थालेका छन् । जबकि यसअघि दैनिक २० को हाराहारीमा मात्र आँखाका बिरामीहरू आउने गरेका थिए ।
आँखा पाक्ने रोगले जिल्ला अस्पताल, तामाकोसी अस्पताल, रामेछाप सामुदायिक आँखा अस्पताल र मन्थली अस्पतालमा बिरामी आउने क्रम बढेको छ । जिल्लामा रहेका चस्मा पसलमा पनि भिडभाड देखिन थालेको छ । सङ्क्रमण पूर्ण रूपमा निको हुन अरू एक साता लाग्ने अनुमान चिकित्सक हरूले गरेका छन् ।