रामेछाप जिल्ला रामेछाप नगरपालिका–८ सल्लेका ३४ वर्षीय सन्तोष कुमार तामाङको साउदी अरबमा सवारी दुर्घटनामा परी निधन भएको छ। विगत तीन महिनादेखि साउदीमा सवारी चालकको रूपमा कार्यरत तामाङको जेठ १८ गतेको दिन कार्यस्थलमै दुर्घटनामा परी ज्यान गएको हो।
तामाङ साउदी पुगेको छोटो समयमै यति दुःखद खबर आएकाले परिवार, छिमेकी र आफन्त सबै स्तब्ध भएका छन्। तामाङको परिवारले शव नेपाल ल्याउन प्रयास गरिरहे पनि कम्पनीको गैरजिम्मेवारीपनका कारण समस्या उत्पन्न भएको मृतकका भाइ तिर्थ तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार, “कम्पनीले कुनै सहयोग नगरेपछि हामी आफैंले सबै प्रक्रिया अघि बढाइरहेका छौं, तर आर्थिक अवस्था निकै कमजोर छ।”
सन्तोष तामाङको परिवार केही महिनाअघि मात्र आमाको मृत्युको पीडाबाट गुज्रिएको थियो। “हामीले आमाको उपचारमा ५० लाखभन्दा बढी ऋण गरेौं, घर जग्गा बेच्यौं, गहना राख्यौं,” तिर्थले पीडाभित्र लुकेको दुःख सुनाउँदै भन्नुभयो, “त्यो घाउ अझै निको भएको थिएन, अहिले दाईको अप्रत्याशित निधनले हामी पूरै भत्कियौं।”
मृतक सन्तोष तामाङका तीन जना साना छोरीहरू छन्, जसले अहिले पनि बाबाको माया खोजिरहेका छन्। “छोरीहरूले बारम्बार सोध्छन् – बाबु कहिले आउनुहुन्छ? के जवाफ दिउँ?” भन्दै तिर्थले आँखा रसाउँदै अपिल गर्नुभयो, “हामीलाई यो पीडामा थोरै भए पनि मलम लगाइदिनुहोस्।”
तामाङ परिवार अहिले गहिरो शोक र ऋणको भारीमा थिचिएको अवस्थामा छ। शव नेपाल ल्याउने खर्च, कानुनी प्रक्रिया र अन्त्येष्टिको तयारी गर्न ठूलो आर्थिक सहयोग आवश्यक परेको छ।
सामाजिक भावना, दया र मानवता देखाउँदै जसले जहाँबाट सकिन्छ, पीडित परिवारलाई सहयोग गर्न तामाङ परिवारले अपिल गरेका छन्।
तलको क्युआर कोड स्क्यान गरेर वा परिवारले दिएको खाता विवरणमा रकम पठाएर मृतक सन्तोष तामाङको शव नेपाल ल्याउने प्रयासमा तपाईंको साथ दिन सक्नुहुन्छ।
