काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महर साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। एक महिलाले दिएको जाहेरीका आधारमा नेपाल प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
साइबर ब्युरो स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि महर आफैं ब्युरोमा उपस्थित भएका थिए। अनुसन्धानका क्रममा उनलाई अदालतमा पेश गरी म्याद थप प्रक्रिया अघि बढाइएको ब्युरोका एक अधिकारीले जानकारी दिए। “अहिले उहाँलाई सम्मानित अदालतमा उपस्थित गराएका छौँ, हेरौँ अदालतले के आदेश दिन्छ,” अधिकारीले भने।
जाहेरी हुलाकमार्फत दर्ता भएको र यो नयाँ मुद्दा भएको ब्युरोको भनाइ छ। तर यसअघि देखिएका घटनासँग पात्र मिल्न सक्ने सम्भावना रहेको भन्दै विस्तृत विवरण अदालतको आदेशपछि मात्र दिने अधिकारीहरूले बताएका छन्।
यसअघि पनि महर यौनसम्बन्धी विवादका कारण चर्चामा आएका थिए। सोही प्रकरणका कारण उनलाई अनेरास्ववियु (अखिल) को संयोजक पदबाट हटाइएको थियो। तर पर्याप्त प्रमाण नदेखिएको भन्दै एमालेले पछि उक्त कारबाही फुकुवा गरेको थियो।









