काठमाण्डौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेललाई प्रहरीले पक्राउ गरेको छ।
चितवनको कालिका नगरपालिका–५, पदमपुरका कँडेललाई रुपन्देही प्रहरीले बुधबार चितवनबाट पक्राउ गरी बुटवल ल्याएको हो। कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक समेत रहेका छन्।
रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा अनुसन्धान सुरु गरिएको छ। यसअघि साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथमा बस्न आएका भारत, कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित पक्राउ गरिएको थियो।
यादवको बयानकै आधारमा कँडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्रिभुवन विश्वविद्यालयसहितका नक्कली प्रमाणपत्र बरामद भइसकेको र घटनाबारे थप अनुसन्धान जारी रहेको एसपी क्षेत्रीले बताए।









