काठमाडौं, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न विपद् परिस्थितिमा सबैलाई संयमता अपनाएर शान्ति र सुव्यवस्था कायम गर्न आग्रह गरेका छन्।
नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्बोधन गर्दै राष्ट्रपतिले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिने उपाय खोज्नुपर्नेमा जोड दिएका छन्। उनले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था स्थापनाका लागि आफू निरन्तर प्रयासरत रहेको उल्लेख गरेका छन्।
आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटो समाधान खोज्ने कुरामा सरकारको पहल भइरहेको भन्दै उनले असन्तोषलाई संवाद र शान्तिपूर्ण बाटोमार्फत समाधान गर्न सबैलाई सहयोग गर्न अपिल गरेका छन्। राष्ट्रपतिले मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।










