रामेछाप । राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति रामेछापले पत्रकारहरुको क्षमता बृद्धिको लागि तीनदिने पत्रकारिता तालिम बिहिबारवाट मन्थलीमा शुरु गरेको छ ।
तीनदिनसम्म संचालन हुने उक्त तालिमको लागि रामेछाप नगरपालिका, मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका र खाँडादेवी गाउँपालिकाको आर्थिक सहयोग तथा राष्ट्रिय दलित पत्रकार संघ रामेछापको आयोजनामा संञ्चालित उक्त तालिममा जिल्लामा कार्यरत १९ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।
तालिमको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतको प्रमुख आतिथ्यता एवं राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रमेशकुमार बस्नेतले पत्रकारहरुले जहिले पनि बास्तविक घटनाको गहिराईमा पुगेर सत्य, तथ्य घटनामा आधारित भई राज्यका तीनवटै निकायले गरेका काम कारवाहीको बिषयमा लेख्न सक्नु पर्ने बताए ।
उनले भने– पत्रकारिता बिषय भनेको निकै चुनौती र संर्घषशिल बिषय भएकाले यस क्षेत्रमा लाग्ने जो सुकैले पनि निकै गम्भिर र इमान्दारीतापूर्वक लाग्नु पर्छ । राज्यका तिनवटै तहका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले गरेका गतिविधि र समाजमा हुने विभिन्न विकृती, विसंगतीका विषयमा पनि गम्भिर भएर कलम चलाउन सक्नु पर्ने नगरप्रमुख बस्नेतले वताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुगेल, पत्रकार महासंघका पूर्व सभापतिहरु बद्री नयाँघरे, हिमाल ढुगेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापका जिल्ला अध्यक्ष नबराज श्रेष्ठ, राष्ट्रिय दलित पत्रकार संघ बागमति प्रदेशका प्रदेश सदस्य गम्भिर विश्वकर्मा लगाएतकाले तालीम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
तीनदिनसम्म चल्ने उक्त तालिमको राष्ट्रिय दलित पत्रकार संघ नेपालका सल्लाहाकार संयोजक तथा दलित अधिकारकर्मी पत्रकार जे.वी.विश्वकर्माले प्रशिक्षण दिइरहेका छन् । पत्रकारीता सम्वन्धि शिप तथा क्षमता विकास गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको राष्ट्रिय दलित पत्रकार संघ रामेछापले जनाएको छ ।