रामेछाप, जेठ २० — नेपाल प्रेस युनियन रामेछापले आफ्नो ३४औं स्थापना दिवस विशेष अवसरमा जिल्लाभरिका पत्रकारहरूका लागि निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम आयोजना गरेको छ। प्रेस युनियनको जिल्ला शाखाले तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको सामुदायिक आँखा केन्द्र मन्थलीको प्राविधिक सहयोगमा मन्थलीस्थित कार्यालय परिसरमै मंगलबार एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
कार्यक्रममा रामेछाप जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २८ जना पत्रकारहरूले आँखा परीक्षण गराएका थिए। परीक्षणपछि दृष्टिमा समस्या देखिएका २५ जना पत्रकारलाई युनियनले निःशुल्क चश्मा वितरण गरेको प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिइन्।
उनका अनुसार लामो समयदेखि सञ्चार माध्यममा कार्यरत पत्रकारहरू दैनिकजसो कम्प्युटर, ल्यापटप, मोबाइल, क्यामेरा र टेलिभिजन स्क्रिनमा घण्टौं बिताउने गर्छन्। यस्तो प्रविधि आधारित कार्यशैलीले आँखामा दीर्घकालीन असर गर्ने हुँदा यस्ता स्वास्थ्य शिविरहरू पत्रकारहरूका लागि आवश्यक मात्र नभई अत्यन्त प्रभावकारी समेत हुने बताइन्।
शिविरमा आँखा परीक्षण गरिरहेका सामुदायिक आँखा केन्द्र मन्थलीका प्रमुख उमेश तामाङका अनुसार अधिकांश पत्रकारहरूमा सुक्खा आँखा, दृष्टिदोष, चालिसे लाग्ने समस्या, आँखामा एलर्जी तथा आँखाको पाक्ने समस्या देखिएको थियो। “लामो समय स्क्रिन हेरिरहँदा आँखाको क्षमता घट्ने, चिम्लिने, पोल्ने, दुख्ने र धुंधलो देख्ने समस्या देखिन्छ,” उनले भने, “यस्ता लक्षण देखिएमा प्रारम्भिक चरणमै परीक्षण गरेर आवश्यक चश्मा प्रयोग गर्दा दीर्घकालीन क्षति हुनबाट बच्न सकिन्छ।”
कार्यक्रममा सहभागी भएका पत्रकारहरूले समेत स्वास्थ्य शिविर अत्यन्त उपयोगी र व्यावहारिक भएको प्रतिक्रिया दिएका छन्। पत्रकार सन्तोष थापाले भने, “हामी दिनभर काममा दौडधूपमै हुन्छौं। यस्ता स्वास्थ्य शिविरहरूले समस्या पत्ता लगाउन र समयमै समाधान गर्न सहयोग पुर्याउँछ। प्रेस युनियनलाई धन्यवाद दिन चाहन्छु।”
तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको सामुदायिक सेवा केन्द्र मन्थलीले विगत २५ वर्षदेखि रामेछापमा आँखा सम्बन्धी सेवा दिँदै आएको छ। हाल उक्त केन्द्रमा अत्याधुनिक सेवा सुविधासहितको नयाँ भवन निर्माण भइरहेको र सेवा विस्तारका लागि नयाँ प्रविधिहरूको समेत समावेश गरिँदै गएको केन्द्रले जानकारी दिएको छ।
कार्यक्रमको समापनमा प्रेस युनियनका पदाधिकारीहरूले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका थिए।