रामेछाप । पहिरोका कारण गोकुलंगा गाउँपालिका–६ फर्पुमा एकै घर परिवारका तीन किशोरीको ज्यान गएको छ । बिहीबार साँझ आएको अविरल वर्षापछि आएको पहिरोले स्थानीय विमान तामाङको घर पुरिँदा विमान तामाङकी एक छोरी र दुई नातिनीको ज्यान गएको वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिनुभयो । विमान तामाङको छोरी वर्ष १८ को श्री सीता तामाङ, विमान तामाङको नातिनी पदम तामाङको छोरी वर्ष १३ को श्री लक्ष्मी तामाङ र श्री पेमा तामाङको छोरी वर्ष १५ को श्री आशिका तामाङको पुरिएर मृत्यु भएको वडा अध्यक्ष सुनुवारले जानकारी दिनु भयो ।
बिहीबार साँझ ७ः३० बजेतिर घर माथिबाट खसेको ढिस्कोले घर भत्किँदा उनीहरूलाई पुरेको हो । घटनामा पुरिएका तीनै जनाको शव फेला परेको सुनुवारले जानकारी दिनुभयो । उनीहरू दिउँसो रोपाइँ गरेर घर फर्किए घरमा आगो तापेर बसेका थिए । अन्य परिवार भने घर आउने क्रम थियो ।