रामेछाप । रामेछापको मन्थलीमा बिहिबार कुकुरले टोकेर ९ जना घाइते भएका छन् । रेबिज लागेको आशंका गरिएको कुकुरले टोकेर मन्थली बजार र आसपासका क्षेत्रका ९ जनालाई घाइते बनाएको हो । घाइतेहरु सबैको मन्थली अस्पतालमा उपचार गरिएको छ । घाइतेहरु सवैको अबस्था सामान्य भएको अस्पतालले जनाएको छ ।
कुकुरले जथाभावि मानिसहरुलाइ टोकेर घाइते बनाएको मन्थली अस्पतालका चिकित्सक डा. केशव धामीले बताउनु भयो । उहाँले आज मात्र अस्पतालमा कुकुरको टोकाइबाट घाइते भएका ९ जना उपचारका लागि आएको जानकारी दिनुभयो । यस अगाडि पनि कुकुरले मन्थली बजारमा मानिसलाइ टोक्ने गरेको थियो । मन्थलीको भैंसेश्वर क्षेत्रमा बिहिवार कुकुर आतंकनै मच्चिएको थियो भने मानिसहरु कुकुर देख्ने वित्तिक्कै भाग्न थालेका थिए ।
कुकुरले एक महिना अगाडि देखि नै मन्थली बजारमा दुःख दिन थालेको हो । अहिले अझ कुकुरको विगविगी बढ्दै गएको छ । बिहिवार दिनभर मानिसहरुलाई टोक्दै हिड्ने कुकुर पनि रेविज लागेको हुन सक्ने अनुमान गरिएको छ । मानिस देख्ने वित्तिक्कै जथाभावि टोक्दै हिडेको कुकुरलाइ अहिलेसम्म नियन्त्रणमा भने लिइएको छैन ।