रामेछाप । रामेछाप जिल्लाको मन्थलीमा आयोजित एक विशेष कार्यक्रममा ९ जना असल बुहारी र ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ। मन्थली नगरपालिका र रामेछाप नगरपालिकाका नगरप्रमुखहरू लव श्रेष्ठ र लव श्री न्यौपानेले संयुक्त रूपमा आयोजित समारोहमा उनीहरूलाई नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेका हुन्। असल बुहारीहरूलाई आफ्नो सासु-ससुराको राम्रो हेरचाह गरेको आधारमा चयन गरिएको हो भने जेष्ठ नागरिकहरूलाई उमेर र योगदानका आधारमा सम्मान गरिएको आयोजकले जनाएका छन्।
जिल्ला जेष्ठ नागरिक संघ रामेछापको आयोजना र मन्थली नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न सो कार्यक्रम मन्थली सदरमुकाममा आयोजना गरिएको थियो। संघको साधारण सभा तथा ‘जेष्ठ नागरिक अन्तरपुस्तीय सीप हस्तान्तरण कार्यक्रम’ अन्तर्गत भएको उक्त समारोहमा करिब ३०० जना जेष्ठ नागरिकहरूको सहभागिता थियो।
कार्यक्रममा बोल्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले जेष्ठ नागरिकहरू समाजको अमूल्य निधि भएको उल्लेख गर्दै उहाँहरूको सम्मान र संरक्षणमा परिवार, समाज र राज्य सबैले समान जिम्मेवारीका साथ लाग्नुपर्ने धारणा राख्नुभयो। उहाँले सरकारद्वारा दिइँदै आएको भत्ता, निःशुल्क स्वास्थ्य उपचारलगायतका सेवा-सुविधाको चर्चा गर्दै स्थानीय सरकारले पनि आवश्यकताअनुसार थप सहयोग गरिरहेको जानकारी दिनुभयो।
रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले जेष्ठ नागरिकहरूलाई भगवानसरह मान्दै उहाँहरूको बिना समाजको कल्पना गर्न नसकिने बताए। उहाँले संघीय सरकारले उपलब्ध गराएको सेवा बाहेक पनि स्थानीय सरकार जीविकोपार्जन र स्वास्थ्य उपचारमा सधैं साथमा रहने बताए। साथै, उहाँले केही दिनभित्रै चिकित्सक टोलीसहित गाउँगाउँमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा सञ्चालन गरिने जानकारी पनि दिनुभयो।
कार्यक्रमको अध्यक्षता जिल्ला जेष्ठ नागरिक संघ रामेछापका अध्यक्ष नारायणदास श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा डा. सुमुन कर्माचार्य, जेष्ठ नागरिक बैकुण्ठप्रसाद पौडेललगायतले जेष्ठ नागरिकप्रतिको कर्तव्य र सम्मानका विषयमा आ–आफ्ना विचार राखेका थिए।