रामेछाप । आगामी बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्ने रामेछापका १ लाख ६७ हजार १ सय २८ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा २०७४ सालको निर्वाचनमा जिल्लाभरका १ लाख ५२ हजार ५ सय ५९ जना मतदाताहरुले मतदानमा भाग लिन पाउने गरि मतदाता कायम गरिएको थियो । जिल्लाको २ नगरपालिका र ६ गाउँपालिका गरि ८ वटा स्थानिय तहका ६४ वटै वडाहरुमा जिल्ला निर्वाचन कार्यालयले आयोगको निर्देशनअनुसार निर्वाचन सहभागी हुने मतदाताहरुको नामावली अद्यावधिक गर्ने काम सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका सूचना अधिकारी गणेश थापाले जानकारी दिए ।
उनले भने– कार्यालयले गत माघ १५ गतेदेखी २१ गतेसम्म जिल्लामा मतदाता नामावली अद्यावधिक (दावी, बिरोध) गर्ने काम सकेको छ । यसअघि मतदाता नामावली बिवरणमा समावेश भएका ३४ जना मृतक र दोहोरो बिवरण समावे भएका ४ जना गरि ३८ जनाको बिवरण मतदाता नामाबलीवाट हटाइएको छ भने २२ जनाको सामान्य त्रुटी सच्चाएर मतदाता कायम गरिएको सूचना अधिकारी थापाले बताए ।
रामेछापमा २०७४ सालको निर्वाचनमा ९१ वटा मतदान केन्द्र र १ सय ९१ वटा मतदान स्थल कायम गरिएको थियो । आउने निर्वाचनमा ९० मतदान केन्द्र र २ सय ३ वटा मतदान स्थल कायम हुनसक्ने निर्वाचन कार्यालयले जनाएको छ ।