रामेछाप नगरपालिका–४, हिमगंगा बोलङबोलङमा मंगलबार दिउँसो भएको एक दर्दनाक घटनामा आफ्नै भिनाजुले सालोको खुकुरी प्रहार गरी हत्या गरेका छन्।
५३ वर्षीय लवकुमार थापा मगर घरमा नानीहरू हेरिरहेका बेला भिनाजुले धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो। स्थानीयवासीका अनुसार, दिउँसो करिब ३:३० बजेतिर कानमुनी खुकुरी प्रहार गरी हत्या गरिएको अवस्थामा थापा मगरको शव फेला परेको थियो।
हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले केही घण्टामै सिन्धुली जिल्लाको च्याखुटारबाट नियन्त्रणमा लिएको छ। प्रारम्भिक बयानमा उनले अपराध स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ।
स्थानीयको भनाइअनुसार, घटनाका बेला मृतककी श्रीमती बाख्रा चराउन गएकी थिइन् भने गाउँका अधिकांश मानिसहरू बालमैत्री वडा घोषणा कार्यक्रममा सहभागी भइरहेका थिए। यही मौका पारेर अभियुक्तले योजनाबद्ध रुपमा हत्या गरेको आशंका गरिएको छ।
थापा मगर र उनका भिनाजुबीच विगत १०–१२ दिनदेखि सामान्य पारिवारिक विवाद चलिरहेको बताइएको छ। तर, घटना यति हिंसात्मक मोड लिनेछ भन्ने कसैले अनुमान गरेको थिएन।
घटनास्थलमा प्रतिकारको कुनै संकेत नदेखिएको प्रहरीको भनाइ छ। हाल घटनास्थललाई साँघुटार प्रहरीले नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय रामेछापबाट अनुसन्धान टोली त्यसतर्फ पठाइएको छ।