रामेछाप, जेठ २९ – पछिल्ला ६ वर्षमा वैदेशिक रोजगारीका क्रममा ३१ जना रामेछापवासीले विदेशमै ज्यान गुमाएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै ९ जनाको मृत्यु भएको हो।
सामी कार्यक्रमका संयोजक दीपक कुमार केसीका अनुसार, आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म ३१ जनाको मृत्यु भएको छ। तीमध्ये २०७५/७६ मा ३ जना, २०७६/७७ मा ४ जना, २०७७/७८ र २०७८/७९ मा २/२ जना, २०७९/८० मा ११ जना र चालु वर्षमा ९ जनाले विदेशमै ज्यान गुमाएका हुन्।
“हाम्रो तथ्यांकमा सूचित मृत्यु संख्या मात्रै हो, अन्य धेरै मृत्युका घटनाहरू जानकारीमा नआएको हुन सक्छ,” संयोजक केसीले बताए। चालु वर्षको साउनदेखि चैतसम्म रामेछापबाट ६ हजार ७६ जना (४ हजार ७२० पुरुष र १ हजार ३५६ महिला) श्रम स्वीकृति लिएर विदेश गएका छन्।
हेल्वेटासकी कार्यक्रम संयोजक उमा पौडेलका अनुसार हालसम्म झन्डै ७१ लाख नेपाली वैदेशिक रोजगारीमा छन्। तर फर्किएका श्रमिकको आधिकारिक विवरण भने अझैसम्झि अभावमा छ। उनका अनुसार हाल दैनिक करिब २ हजार २ सय नेपाली विदेश जाँदैछन्।
सबैभन्दा बढी २६ प्रतिशत नेपाली संयुक्त अरब इमिरेट्स, १९ प्रतिशत साउदी अरेबिया, १८ प्रतिशत कतार जाने गरेका छन्। अन्य गन्तव्यमा मलेसिया, जापान, दक्षिण कोरिया, क्रोएसिया, बहराइन लगायत छन्।
मन्थलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले वैदेशिक रोजगारीसँग सम्बन्धित ठगी, कानुन र सुरक्षित आप्रवासनका पक्षमा जानकारी दिए। मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले सामी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लगिने प्रतिबद्धता जनाए।