रामेछाप । रामेछाप उद्योग वाणिज्य सङ्घले जिल्लामा रहेका तामाकोसी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा विशेष छुटको व्यवस्था मिलाएको छ । सङ्घले आफ्ना सदस्यलाई जिल्ला सदरमुकाम मन्थलीका रहेका निजी अस्पतालबाट उपचार गर्दा विशेष छट्को व्यवस्था गरेको हो । त्यसको लागि सङ्घले अस्पतालहरूसँग लिखित सम्झौता गरेको छ ।
गत आइतबार सङ्घको सचिवालयमा सङ्घको तर्फबाट अध्यक्ष नवीन थापा मगर र तामाकोसी अस्पतालका अध्यक्ष गोविन्द घिमिरे र रामेछाप सामुदायिक अस्पताल मन्थलीका सञ्चालक केशव सिंह धामीले सहमति पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त कार्यक्रममा सङ्घका महासचिव कुमार श्रेष्ठ, सचिव यज्ञ सुवेदी, उद्योग उपाध्यक्ष आकाश रिजाल, सदस्य झनक बुढाथोकी (उत्तम), कार्यकारी अधिकृत नवीन केसी लगायत सहभागिता भएका थिए । सम्झौता आउँदो चैत्र मसान्तसम्म कायम रहने महासचिव कुमार श्रेष्ठले जानकारी दिए ।
निजी क्षेत्रका व्यापार व्यवसायीहरू आबद्ध उद्योग वाणिज्य सङ्घमा जिल्लामा १ हजार ४ सय २५ जना सदस्य छन् । भने, सङ्घले पालिका स्तरमा पनि आफ्नो क्षेत्र विस्तार गर्दै छ । सदस्यता परिचयपत्रको प्रतिलिपिको आधारमा तामाकोसी अस्पताल मन्थलीबाट सबै खाले औषधि खरिदमा ५ प्रतिशत, सम्पूर्ण स्वास्थ्य उपचार सेवामा २० प्रतिशत छुट पाउने छन् । यसरी तामाकोसी अस्पतालमा सङ्घका सदस्यले कूल ४० प्रतिशत सम्म छुट पाउने छन् ।
त्यस्तै देवकोटा चोक स्थित रामेछाप सामुदायिक अस्पताल मन्थलीबाट औषधि खरिदमा ५ देखि १० प्रतिशत, ल्याबमा २० प्रतिशत, सर्किजल (अप्रेसन) मा १० देखि १५ प्रतिशत र अस्पताल बेड भर्ना ५० प्रतिशत छुट पाउने महासचिव श्रेष्ठले जानकारी दिए ।
सङ्घमा आबद्ध सदस्यहरूले सम्झौता भएका अस्पतालबाट सेवा पाउनको लागि यही असार मसान्त भित्र सङ्घको सचिवालयमा उपस्थित भई सदस्यता नवीकरण गर्नु पर्ने समय तोकिएको छ । त्यस्तै आउँदो साउनदेखि लागू हुने गरी सङ्घका सदस्यहरूको दुर्घटना बिमा समेत गरिने महासचिव श्रेष्ठले जानकारी दिए ।