रामेछाप । रामेछाप नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार लबश्री न्यौपाने ७ वटा वडा सहित विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रोशन पाख्रिनलाई ६ सय ५३ मतले पराजित गरी न्यौपाने नगर प्रमुखमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार न्यौपानेले ६ हजार ६ सय ३९ मत ल्याएर विजय हासिल गरेको छ भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रोशन पाख्रीनले ५ हजार ९ सय ८६ मत ल्याएका छन् ।
त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका बालाकुमारी कार्की विजयी भएकी छिन् । कार्कीले ६ हजार ६ सय ४ मत प्राप्त गरेर विजयी भएकी हुन । कार्कीकी प्रतिस्पर्धी नेकपा एमालेकी सिता कुमारी खत्रीले ५ हजार ३ सय ४७ मत प्राप्त गरेकी छिन् । नगर पालिकामा रहेको ९ वटा वडा मध्य ७ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ ।
यस अघिको २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले ३ वटा वडामा मात्र जित हात पारेको थियो । नेपाली कांग्रेसले ७ र नेकपा माओवादी केन्द्रले २ वटा वडामा जित हात पारेको छ भने नेकपा एमालेले कुनै पनी वडामा जित हात पार्न सकेको छैन् ।