रामेछाप । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको खाना सर्केर ज्यान गएको छ । नगरपालिकाका कर्मचारीहरूले आयोजना गरेको वनभोज कार्यक्रममा खाना खाने क्रममा खाना सर्केर ४८ वर्षीय स्वकीय सचिव लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो ।
रामेछाप नगरपालिकाका कर्मचारीहरूले सोही पालिकाको वडा नं ७ सुकाजोर मा रहेको तारा खस्यो पोखरीमा शनिवार वनभोज कार्यक्रमको आयोजना गरेका थिए । सोही कार्यक्रममा सहभागी भएर खाना खाने क्रममा खाना सर्केपछि श्रेष्ठलाई लामो समय सम्म खोकी लागेको थियो ।
खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि सँगै गएका साथीहरूले श्रेष्ठलाई जिल्ला अस्पताल रामेछाप पुर्याएका थिए । अस्पताल ल्याएको केही समयमा डाक्टरले श्रेष्ठलाई मृत घोषणा गरेको थियो । जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले श्रेष्ठको खाना सर्केर श्वास नीलिमा पुग्दा स्वासप्रस्वसमा समस्या बढ्दै गएका कारण ज्यान गएको बताएका छन् । सो घटना पछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष समीर कार्की पनि बेहोस भएका छन् । कार्कीको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ ।