रामेछाप । रामेछाप नगरपालिकाले पालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको परिचय अद्यावधिक गर्दै छ । यस भन्दा अघि अपाङ्गता नभएका व्यक्तिले पनी कानुनको आँखा छल्दै अपाङ्गता भएको नाटक गरी परिचय पत्र लिएको थाहा पाए संगै नगरपालिकाले अपाङ्ग परिचय पत्र अद्यावधिक गर्न सुरु गरेको हो ।
नगरपालिकाले यस अघि अपाङ्गता परिचय पत्र लिएका व्यक्तिहरुलाई जिल्ला अस्पतालमा ल्याएर परिक्षण स्वास्थ्य परिक्षण गरी अपाङ्गता भएको हो हैन् पहिचान गरी परिचय बितरणको काम स्ुरु गरेको छ । अपाङ्ग नभएका केही व्यक्तिहरुले भत्ता खाइरहेको नगरपालिकामा गुनासो आउन लागे संगै नगरपालिकाले पहिले जारी भएको सबै परिचय पत्र रद्ध गरेर नयाँ परिचय पत्र जारी गर्न थालेको हो ।
हाल नयाँ परिचय पत्र बितरणका लागी नगरभरीका सबै अपाङ्ग भएका व्यक्तिहरुलाई जिल्ला अस्पताल रामेछापमा ल्याएर परीक्षण गर्ने काम भैरहेको रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले जानकारी दिइन् । ९ वटै वडाहरुमा रहेका सबै अपाङ्गता भएकाहरुलाई चिकित्सक सहितको टोलिले परीक्षण गरेर कुन वर्गको परिचय पत्र प्राप्त गर्ने हो सोही अनुसार परिचय पत्र वितरण गर्ने कार्य सुरु गरेको उपप्रमुख कार्कीले बताइन् । यसभन्दा अघि केही सपाङ्ग व्यक्तिहरुले गाउँ गाउँमा शिविर संचालन भएको बेला नाटक गरेर अपाङ्ग बनेर भत्ता खाइरहेको पाइएकाले पुरानो परिचय पत्र खारेज गरी नयाँ परिचय पत्र बितरण गर्न थालिएको जानकारी दिइन् ।
त्यस्तै गरी वास्तविक अपाङ्गता भएका व्यक्तिले मात्रै भत्ता प्राप्त गरुन भनेर अस्पतालमै ल्याएर परीक्षण तथा पहिचान गर्ने काम गरेको महिला तथा बालबालिका शाखा प्रमुख विमला कुमारी शर्मा बताइन् ।
सबै वडा कार्यालयहरुले आ–आफनो वडाबाट गाडीको व्यवस्था गरेर अपाङ्गता भएकाहरुलाई परीक्षणको लागी अस्पताल ल्याउने र लैजाने काम गरेको रामेछाप नगरपालिका वडा नं ३ का वडाअध्यक्ष दल बहादुर प्रधानले जानकारी दिए । यहि कार्तिक १३ गतेदेखी सुरु भएको परिचय पत्र अद्यावधिक शिविर कार्तिक १९ गतेसम्म संचालन हुने रामेछाप नगरपालिकाले जानकारी दिएको छ ।