रामेछाप । पौष २६ गते देखी मन्थलीमा हुने वृहत् रामेछाप महोत्सवमा ५० हजार भन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकले जनाएको छ । आज (बिहिबार) पत्रकार सम्मेलन गर्दै रामेछाप उद्योग वाणिज्य सङ्घले रामेछाप लगाएत अन्य जिल्ल बाट ५० हजार भन्दा बढी दशर्कले महोत्सव अवलोकन गर्ने बताएका छन् । पौष २६ गतेदेखि माघ ७ गतेसम्म चल्ने महोत्सवको ४० प्रतिशत काम सम्पन्न भएको पनी आयोजक संस्था रामेछाप उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
पत्रकार सम्मेलनमा रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापा मगरले वृहत् रामेछाप महोत्सवको तीव्र तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत र पर्यटन तथा पूर्वाधार हाम्रो रामेछाप, राम्रो रामेछाप भन्ने मूल नाराका साथ ११ दिने रामेछाप महोत्सव हुँदै छ । अहिले रामेछाप उद्योग वाणिज्य सङ्घले महोत्सवको तयारीका लागि विभिन्न १५ वटा उपसमितिहरू निर्माण गरी काम गरिरहेको छ । यो महोत्सवले रामेछापको स्थानीय कृषि उत्पादन र पर्यटन प्रवर्धनमा टेवा पु¥याउने अनि सुस्ताउँदै गएको बजार चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा छ ।’’ पौष २६ गते बिहीबार जिल्ला समन्वय समितिको प्राङ्गणमा उद्घाटन हुने महोत्सवमा जिल्लामा रहेका दुई नगरपालिका र ६ वटा गाउँपालिकाको वडा तहमा उत्पादित कृषि उत्पादनहरू, हस्तकलाका सामाग्रीहरु सहितका एक सय पचास वटा स्टलहरू रहने अध्यक्ष थापामगरको भनाइ छ ।
६८ लाख ५० हजार रुपैयाँ लागत अनुमान रहेको महोत्सवमा ५० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । रामेछापका सबै पालिकाहरूसँग समन्वय गरेर उनीहरूको पनि जिम्मेवारी बहन हुने गरी स्थानीय उत्पादनहरू, हस्तकला, भेसभुसा, कृषि सामाग्रीहरूलाई महोत्सवमा विशेष महत्त्व दिइने महोत्सव आयोजक मूल समारोह समितिका संयोजक एवं रामेछाप उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष केशव प्रसाद घिमिरेले बताउनुभयो । महोत्सवमा स्थानीय कला संस्कृतिको संरक्षण, जगेर्ना र प्रचार प्रसारमा टेवा पु¥याउनका लागि रामेछाप रहेका विभिन्न जातजातिको भेसभुसा र संस्कृति झल्कने झाकी प्रदर्शनी हुने उहाँले बताउनुभयो । महोत्सवले जिल्लाभर रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको पनि प्रचार प्रसारमा सहयोग पुग्ने अपेक्षा लिएको उहाँको भनाइ छ ।