रामेछाप । जिल्ला कारागार कार्यालय रामेछापमा एक कैदी बन्दीको मृत्यु भएको छ । सोमबार साँझ कारागारको बाथरुममा लडेर घाइते भई भएका उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका ८४ वर्षीय पदमबहादुर श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा निधन भएको हो ।
बलात्कार मुद्दामा २०७७ साल असार १८ गते देखि जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका ८४ वर्षीय पदमबहादुर सोमबार साँझ बाथरुममा लडेर घाइते भएका र उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला कारागार रामेछापले जनाएको छ । निजलाई जिल्ला अदालत रामेछापले बलात्कारको मुद्दामा २५ वर्ष जेल सजाएको फैसला गरी कारागार पठाएको थियो । जसमा उनको ३ वर्ष १ महिना ५ दिन मात्र कैद भुक्तान भएको थियो ।
उच्च रक्तचाप र प्यारालाइसिस रोगका दीर्घ रोगी समेत रहेका पीडित वृद्ध नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गर्दै आएका थिए । उनी जबरजस्ती करणी मुद्दामा २०७७ सालमा जिल्ला कारागार रामेछापमा कैद भुक्तान गर्दे आएका थिए ।