काठमाडौं, २३ साउन । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ।
संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ प्रावधान निष्क्रिय हुने गरी प्रतिनिधिसभाबाट पारित भएपछि खतिवडा विवादमा तानिएका थिए। उक्त प्रक्रियामा भएको चलखेलबारे कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहर गर्दै प्रतिवेदन पेश गरेको हो।
पार्टीभित्र र बाहिर दुवैतर्फबाट खतिवडाले पद छाड्नुपर्ने आवाज उठिरहेका बेला कांग्रेस नेतृत्वले एक–दुई दिनभित्रै उनलाई राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ।
पार्टीका शीर्ष नेताहरुबीच यस विषयमा सहमति बनेको र सभापति शेरबहादुर देउवाले पनि खतिवडालाई समिति सभापतिबाट पदमुक्त गर्नुपर्ने धारणा सार्वजनिक गरेको कांग्रेस स्रोतले जनाएको छ।









