रामेछाप । रामेछाप नगरपालिकाले पालिका भित्र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रयाउने उद्धेश्यले भालुखोप डाँडामा भालुखोप सामुदायिक होमस्टे संचालनमा ल्याएको छ ।
होमस्टे संचालनको लागि पालिकाको ८० प्रतिशत लगानी र बाँकी २० प्रतिशत लगानी स्थानिय नागरिकहरुको गरि करिव एक दर्जन होमस्टे संचालनमा ल्याएको हो । पालिकाले होटल व्यवस्थापन र कुकको तालिम समेत प्रदान गरेको छ । जसमध्ये हाल ३ वटा होमस्टे संचालनमा आइसकेका छन् भने बाँकी होमस्टे पनि चाडै संचालनमा आउने भालुखोप सामुदायिक होमस्टेका अध्यक्ष लालबहादुर तामाङ्गले जानकारी दिए ।
उनले भने– पालिकाले होमस्टे संचालनको लागि दिएका सवै सामाग्रीहरु हामीले ल्याइसकेका छौं । अहिले केही होमस्टे संचालनमा आएका त छन् तर आन्तरिक र बाह्य पर्यटकहरु कोरोना महामारीको कारण आएका छैनन् । पर्यटकहरु नआउँदा भएका होमस्टे समेत लगानी डुब्ने होकी भन्ने चिन्ताले पिरोलेको छ ।
रामेछापको भालुखोप डाँडा समुन्द्रि सतहबाट करिव १ हजार ८ सय मिटरको उचाईमा रहेको छ । उक्त डाँडामा हाल नगरपालिकाको लगानीमा भ्यू टावर निमार्ण भइरहेको छ । भालुखोपको डाँडावाट पालिकमभित्र सवै वडाहरुमा सहजै दृश्यावलोकन गर्न सकिन्छ । यसबाहेक डाँडावाट तराईका विभिन्न जिल्लाहरु र काठमाण्डौंको सुन्धाराको धरहरा समेत उक्त डाँडावाट देखिने भएकाले पालिकाले उक्त क्षेत्रमा आन्तरिक र वाह्य पर्यटकहरु भित्रयाउन सके पालिकाको आम्दानीको राम्रो श्रोत भन्ने भएकाले यसतर्फ अग्रसरता देखाएको रामेछाप नगरपालिकाकी उप–प्रमुख सिर्जना खड्काले जानकारी दिइन ।
उनले भनिन्– भालुखोपको वातावरण र मौसम पर्यटक मैत्री भएकाले त्यस क्षेत्रलाई पालिकाले पर्यटक हवको रुपमा लागु गर्न लागेको हो । आन्तरिक र बाह्य पर्यटकहरुले पालिका भित्र रहेका ताराखसे पोखरी, तरकारी पकेट क्षेत्र, जुनार पकेट क्षेत्र, खुर्पानी पकेट क्षेत्र र मौरी पकेट क्षेत्रमा पुगेर भरपुर आनन्द लिनसक्ने साथै स्थानिय परिकारका खानाहरुको स्वाद लिन पाउने छन् ।