रामेछाप । पुरानो सदरमुकाम रामेछापमा रहेको रामेछाप नगरपालिकाले आफ्नो पालिका भित्र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउने उद्धेश्यले भालुखोप डाँडामा भ्यू–टावर निमार्णको काम शुरु गरेको छ ।
रामेछाप नगरपालिकामा प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई घुमफिर र पालिका भित्रको रमाइलो दृश्यावलोकन गराउने उद्धेश्यले गएको आर्थिक वर्ष २०७६÷७७ मा विनियोजीत १ करोड ९० लाखको लागतमा भ्यू–टावर निमार्णको काम अघि वढाइएको हो । पालिकाले निकालेको टेण्डर पक्रियामा सुनकोशी कन्ट्रक्सनले निमार्णको जिम्वेवारी पाएको छ ।
निमार्ण हुने उक्त भ्यू–टावर ५ तले (५८ मिटर) अग्लो हुने छ । टावर निमार्ण पश्चात भालुखोप डाँडावाट रामेछाप नगरपालिकाका अधिकासं वडाहरुको प्रत्यक्ष रुपमा दृश्यावलोकन गर्न सकिने छ भने सदरमुकाम मन्थली र यसको अलाबा छिमेकी जिल्ला सिन्धुली र ओखलढुङ्गाका केही गाउँहरु समेत छरलङ् देखिने रामेछाप नगरपालिकाका इन्जिनियर कुुसुम भट्टराईले जानकारी दिए ।
रामेछाप नगरपालिकाको वडा नं–६ ओख्रेनी र वडा नं ७ सुकाजोरको संगम स्थलमा पर्ने भालुखोप डाँडामा पर्यटकको हिसाबले अन्यन्तै सुन्दर र रमणिय स्थल भएकाले पालिकाले यस क्षेत्रलाई पर्यटक हबको रुपमा विस्तार गर्न लागेको रामेछाप नगरपालिकाकी उप–प्रमुख सिजृना खड्काले जानकारी दिइन् ।
उनले भनिन्– हाम्रो पालिका भित्र पर्यटकहरुलाई सुहाउँदो बातावरण भनेको भालुखोप डाँडा नै हो । त्यसैले उक्त स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न नगरपालिका लागि परेको छ । त्यस क्षेत्रमा अहिले खानेपानी विस्तार, होमस्टे संचालन, भ्यू–टावरसम्म पुग्न सिडी निमार्ण, पिकनीक स्र्पोट, शिव मन्दिर निमार्ण लगाएतका कामहरु पुरा भइसकेका छन् ।
त्यसैगरी पर्यटकहरुलाई सहज होस् भन्ने हेतुले नगरपालिकाले रामेछापको हिलेपानीवाट भालुखोपसम्म १ हजार ३ सय ४५ मिटर सडक कालोपत्रे गर्ने काम समेत शुरु गरेको छ । सो सडकको कालोपत्रको लागि पालिकाले १ करोड ८५ लाख रुपैयाँमा कालोपत्रे गर्न लागेको हो ।