नेपालको पर्यटकीय राजधानी पोखरा शहरबाट करिब १२ किलोमिटर दूरीमा रहेको कालाबाङ सामुदायिक घडेरी होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पोखरा महानगरपालिका–२२ मा पर्ने उक्त बस्तीमा हाल १५६ घरधुरी रहेका छन्, जसमध्ये १८ घरमा होमस्टे सञ्चालनमा छन् ।

सञ्चालनमा रहेका १८ होमस्टेमध्ये १२ घर गुरुङ समुदायका, पाँच घर ब्राह्मण समुदायका र एक घर दलित समुदायको रहेको छ । गुरुङ समुदायको बाहुल्य भए पनि ब्राह्मण र दलित समुदायको सक्रिय सहभागितासँगै कालाबाङ घडेरी होमस्टे समावेशी मोडेलका रूपमा परिचित हुँदै गएको छ । २०७३ सालदेखि सञ्चालनमा आएको यस होमस्टेमा एकै रातमा ६० देखि ७० जना पाहुनालाई बस्न सक्ने क्षमता रहेको छ ।
यहाँ पाहुनालाई स्थानीय स्तरमै उत्पादन गरिएको अर्गानिक तरकारी, लोकल कुखुरा, खसीको मासु, चामल, गेडागुडी, साग तथा गुन्द्रुकजस्ता परिकारले स्वागत गरिन्छ । यिनै परिकार र गाउँले आत्मीय आतिथ्यताले कालाबाङ घडेरी होमस्टे विदेशी पर्यटकका लागि झनै आकर्षक बन्दै गएको छ ।
नेपाल होमस्टे महासङ्घका उपाध्यक्ष तथा होमस्टे सञ्चालक प्रकाशचन्द्र गुरुङका अनुसार कालाबाङ बस्ती करिब २५० वर्ष पुरानो हो । पहिले कालो र घना वन भएकाले ‘कालावन’ भनिने यो स्थान समयक्रममा अपभ्रंश हुँदै ‘कालाबाङ’ नामले परिचित भएको हो । पहिले २८१ घरधुरी रहेको यस गाउँमा पोखरा शहर नजिकै भएकै कारण शिक्षा र वैदेशिक रोजगारीका कारण बसाइँ सर्दा अहिले घरधुरी संख्या घटेर १५६ मा सीमित भएको उहाँले बताउनुभयो ।
गुरुङका अनुसार कालाबाङ घडेरी नेपालकै समावेशी होमस्टेमध्ये एक हो । “धेरैजसो ठाउँमा एउटै समुदायको होमस्टे हुन्छ, तर यहाँ गुरुङ, ब्राह्मण र दलित समुदायले मिलेर संयुक्त रूपमा होमस्टे सञ्चालन गरेका छन्,” उहाँले भन्नुभयो ।
होमस्टेमा बस्ने पर्यटकका लागि प्रत्येक साँझ स्थानीय सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको छ । विषादीरहित अर्गानिक खानपान, सांस्कृतिक प्रस्तुति र प्राकृतिक वातावरणले पर्यटकलाई बारम्बार तान्ने गरेको सञ्चालकहरूको भनाइ छ ।
अर्का होमस्टे सञ्चालक दुर्गाबहादुर गुरुङका अनुसार कालाबाङ होमस्टे तुलनात्मक रूपमा कम खर्चिलो छ । प्रतिव्यक्ति खानासहित दैनिक १ हजार १५० देखि १ हजार २०० रुपैयाँसम्मको प्याकेज उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । समुद्री सतहदेखि करिब १ हजार ४ सय मिटर उचाइमा अवस्थित कालाबाङमा न अत्यधिक जाडो हुन्छ, न त धेरै गर्मी नै, जसले वर्षभरि पर्यटकलाई अनुकूल वातावरण प्रदान गर्छ ।
कालाबाङबाट देखिने सेताम्मे हिमाल, हरिया पहाड र घना वनजंगलले यहाँ आउने पाहुनाको मन मोहित बनाउने गरेको छ । पोखरा शहर नजिकै रहेर पनि गाउँले जीवनशैलीको अनुभव गर्न पाइने विशेषताले यस क्षेत्रको आकर्षण झनै बढाएको छ । यही क्षेत्रमा दुर्गाबहादुर गुरुङले ‘आफन्त फार्म स्टे’ नामक छुट्टै घरबास पनि सञ्चालन गर्दै आउनुभएको छ, जहाँ एक रातमा ३५ जनासम्म अट्याच कोठामा बस्न सक्ने व्यवस्था गरिएको छ ।
असोजदेखि माघसम्म तथा नयाँ वर्ष आसपासको समय कालाबाङ घडेरी होमस्टेमा पर्यटकको चाप बढी हुने गरेको छ । बुद्धपार्क, पुम्दीकोटलगायत आसपासका पर्यटकीय गन्तव्यले पनि यहाँको आकर्षण बढाएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ अर्यालले आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँका अनुसार होमस्टे सञ्चालनले स्थानीय रहनसहन, भेषभूषा र संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटकको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
वडा नम्बर २२ का अध्यक्ष हिमलाल बरालले पोखरा ताल, मन्दिर र सांस्कृतिक पहिचानले भरिएको शहर भएकाले धार्मिक तथा सांस्कृतिक पर्यटकको संख्या बढ्दै गएको बताउनुभयो । पूर्वाधार विकासको तीव्रतासँगै कालाबाङजस्ता गाउँबस्तीको पर्यटन सम्भावना अझ विस्तार हुने उहाँको विश्वास छ ।
यसैगरी पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले पोखराको हावापानी, अतिथि सत्कार, ऐतिहासिक तथा सांस्कृतिक पक्षले पर्यटकलाई आकर्षित गरिरहेको बताउनुभयो । पोखरा भ्रमण वर्ष २०२५ को लक्ष्य करिब पूरा हुन लागेको उल्लेख गर्दै उहाँले कालाबाङ जस्ता होमस्टेहरूले शहर नजिकै गाउँ पर्यटनको अनुभव दिन महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो ।
आदिवासी समुदायको परम्परागत जीवनशैली, भाषा, संस्कृति र परिकारसँगै कालाबाङबाट देखिने हिमाल र पहाडको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई निरन्तर आकर्षित गरिरहेको छ ।









