रामेछाप । गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद सुबेदी र लेखा अधिकृत राजन प्रसाद गुरागाईलाई दुई पालिका हेर्ने गरी थप जिम्मेवारी दिएको छ ।
छिमेकी उमाकुण्ड गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको दरवन्दी रिक्त रहेपछि तत्काल सो कार्यालयको समेत कामकाज गर्ने गरी जिम्वेबारी प्रदान गरिएको हो । यसअघि उमाकुण्ड गाउँपालिकाको रिक्त रहेको प्रमुख प्रशासकिय अधिकृत पदमा सोही पालिकाका स्वास्थ्य शाखाका प्रमुख दिपेन्द्र पैकारालाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा कामकाज गर्ने गरी जिम्वेवारी सङ्घीय मामिला मन्त्रालयले दिएको थियो । तर उनी सोही कार्यालयमा कार्यरत महिला स्वास्थ्यकर्मी माथि अभद्र व्यवहार गरेकोको समाचार बाहिर आएसँगै उनलाई निमित्त प्रमुख प्रशासकिय अधिकृतबाट पदमुक्त गरिएको हो ।
रिक्त रहेको उक्त प्रमुख प्रशासकिय अधिकृत पदमा नयाँ प्रमुख नआएसम्मको लागि गोकुलगंगाका प्रमुख प्रशासकिय अधिकृत सुबेदीलाई दुई पालिका हेर्ने गरी सङ्यीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्वेबारी दिएसँगै अधिकृत सुबेदीले सो पालिकाको समेत कामकाज शुरु गरेका छन् । यसअघि सुबेदी उमाकुण्ड गाउँपालिकामा नै रहेर प्रमुख प्रशासकिय अधिकृतकाे भुमीकामा काम गरेर गाेकुलगगा गाउँपालिकामा सरुवा भएका थिए ।
त्यसैगरी उमाकुण्ड गाउँपालिकामा केही महिना अघि सो पालिकाका लेखापाल गणेश प्रसाद घिमिरे रामेछाप नगरपालिकामा सरुवा भएर गएका थिए । पालिकाको रिक्त रहेको लेखा अधिकृत पदमा गोकुलगंगा गाउँपालिकामा कार्यरत राजन प्रसाद गुरागाईलाई उमाकुण्ड गाउँपालिकाको लेखा हेर्ने गरी कोष तथा लेखा नियन्त्रक कार्यालय रामेछापले थप जिम्वेवारी प्रदान गरेसँगै गुरागाईले पनि दुई पालिकाको लेखा हेर्ने जिम्वेवारी पाएका हुन् ।
बिगत लामो समयदेखी प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको दरवन्दी रिक्त रहेकोमा पटक–पटक संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी पठाउन माग गर्दा समेत कर्मचारी नआएपछि बाध्य भएर पालिकाले छिमेकी पालिकाका अधिकृतलाई कार्यालयको काम गर्न गुहार्नु परेको उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरवहादुर सुनुवारले जानकारी दिए । उनले भने– मन्त्रालयले चाडै दुवै अधिकृत पठाउँछौ भनेको छ । नयाँ अधिकृत नआएसम्म कार्यालयको काम तत्काल उहाँहरुले गर्नुहुन्छ सुनुवारले बताए ।