रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले प्रेस विज्ञप्ति जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै महासंघले शुक्रवार विज्ञप्ति जारी गरेको हो । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे द्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ ।
“जिल्ला प्रशासन कार्यालय रामेछापमा मिति २०८० साल माघ ११ गते रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई हाल काठमाण्डौं बस्ने बिनु यादव जिल्ला प्रशासन कार्यालयको मूल ढोकामा ५ दिन देखी आफ्नो माग पुरा गर्न अनसन बसेको विषयमा छलफल गरी निकास निकाल्न प्रयत्न भइरहेको वेला प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले विषय वस्तुलाई विषयान्तर गरी बहकिएको घटना प्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
बैठकमा प्रजिअ निरौलाले बिनु यादवको विषयमा जिल्लाका सञ्चार माध्यमहरूले अनर्गल समाचार सम्प्रेषण गरेको र आफूले रामेछापमा कार्यभार सम्हाल्नासाथ समाचार लेख्न सिकाउँदा समेत सही समाचार सम्प्रेषण नगरेको कुराले आफूलाई दुखित बनाएको भन्ने जस्ता अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ दुःख व्यक्त गर्दछ । प्रमुख जिल्ला अधिकारी जस्तो जिम्मेवार व्यक्तिले पत्रकारहरू समेतलाई बैठकमा बोलाएर विषयान्तर गरी बहकिएर बोलेको कुराले आम सञ्चारकर्मी साथीहरूको आत्मसम्मानमा चोट पुग्नुका साथै स्वतन्त्र प्रेस माथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।
प्रमुख जिल्ला अधिकारीको यस प्रकारको गैर जिम्मेवार अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ रामेछाप शाखा घोर भर्त्सना गर्दै यस प्रकारको विवादास्पद अभिव्यक्ति नदोहो¥याउन सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छ भनेको छ” ।
